चिसो मौसमका लागि राइट डाइट
मौसम परिवर्तन भएपछि बिभिन्न स्वास्थ्य समस्या पनि देखापर्छन् । चिसो मौसममा विशेषगरी रुघाखोकीको समस्या देखापर्छ । त्यसैले चिसो मौसममा शारीरिक गतिविधि कायम राख्नु तथा सक्रिय रहनु आवश्यक छ । चिसो मौसममा सामान्य भन्दा अलिक बढी भोक लाग्नुका साथै अल्छी पनि लाग्छ । मौसमी प्रभावका कारण कयौं मानिस हाइ-क्यालोरीयुक्त भोजन गर्छन् । यसले वजन बढ्ने, अवसाद, थकान, एकाग्रचित्ततामा कमी आदि लक्षण देखापर्छन् । त्यसैले दिनचर्यालाई व्यवस्थित राख्नुपर्छ । घाममा बस्नु उचित हुन्छ । यसले हार्मोन स्तरलाई सामान्य राख्छ । ताजा हावामा व्यायाम गरे कार्डियो वा स्कुलर सिस्टम सक्रिय हुन्छ । चिसो मौसमका कारण कोर्टिसलको स्तर घट्छ । यसले शारीरिक सक्रियता र सजगतामा असर पर्छ । मेलाटोनिन घट्न गै अनिद्रा र फटिग आदि समस्या देखापर्छन् भने महिलामा बिषेशगरि अवसाद देखापर्छ ।
जाडो मौसम छुट्टी मनाउने मौसम हो, तर यो मौसममा सिजन्स एफेक्टिभ डिसअर्डर, श्वास-प्रश्वास, कोल्ड कफ, इनफ्ल्युएन्जा, तौल बढ्ने, छाला सुक्ने, घाँटी दुख्ने आदि थुप्रै समस्या देखापर्छन ।
चिसो मौसमका लागि आहार
चिसो मौसममा गुलियो, अमिलो र नुनिलो खाद्यपदार्थ उपयुक्त हुन्छ । मसलायुक्त खाद्यपदार्थ भने भरसक प्रयोग गर्नुहुँदैन । जाडोबाट जोगिन शरीरले नै ऊर्जा सिर्जना गर्छ । यसले गर्दा भोक बढ्छ र पाचन क्रिया पनि बलियो हुन्छ । जाडोमा दिन छोटा हुने भएकाले शारीरिक गतिविधि पनि कम हुन्छ । अतः तैलीय भोजनले शरीरमा भारीपन महसुस गराउँछ । फ्रिजको पानी, आइसक्रिम, क्यानमा उपलब्ध खाद्य वा पेय पदार्थ जाडोमा भरसक खानुहुँदैन ।
खानपान र शारीरिक गतिविधिका बीच तालमेल मिलाउनुपर्छ । चिसो मौसममा तौल बढ्नुलाई स्वाभाविक मान्नुपर्छ तर जो पहिले नै मोटोपनको सिकार छ, उसले सन्तुलित भोजनका साथै व्यायाम एवं शारीरिक सक्रियतामा ध्यान दिनुपर्छ ।
जाडो मौसम सुख्खा हुने भएकाले स्वाभाविक रूपमा छालाको नरमपना कम हुन्छ अनि प्यास कम लाग्छ । शरीर एवं छालाको सन्तुलन जोगाउन प्रशस्त पानी पिउनुपर्छ ।
फल र तरकारी को सुप पिउने बानी बसाल्नुपर्छ । क्रिमी ककटेल्सहरू छोड्नुपर्छ । क्रिम र चिनीको बढी प्रयोग हुने खाद्य एवं पेयपदार्थ कम गर्नुपर्छ । यिनमा क्यालोरी बढी हुने भएकाले तौल बढ्ने सम्भावना हुन्छ ।
जाडो मौसममा घामको न्यानो प्राप्त नभए भिटामिन डीको कमी हुन्छ । यस्तो अवस्थामा सिजनली एफेक्टिभ डिसअर्डर जस्ता समस्या देखापर्नसक्छ । भिटामिन डीका साथै ओमेगा ३ फेटी एसिडको स्रोत हुने भएकाले माछाको सेवन उपयुक्त हुन्छ । यसले शरीरमा सेरोटोनिनको स्तर बढाई मुड बिग्रने वा अवसादको स्थितिबाट जोगाउँछ ।
कम गुणस्तरका चकलेटबाट जोगिनुपर्छ । गुणस्तरकोे डार्क चकलेट खान सकिन्छ । यसमा उच्च मात्रामा हुने कोको तत्वको एन्टिअक्सिडेन्ट्सले लाभ प्रदान गर्छ ।
भोक लागे ड्राइ फ्रुट्स खान सकिन्छ तर मात्रा कम हुनुपर्छ । ओखर सेलेनियमको राम्रो स्रोत हो । यसले अवसादबाट जोगाउँछ । मानसिक स्वास्थ्यका लागि ओखर सेवन लाभदायक हुन्छ ।
गहुँ, जुनेलो, ब्राउन राइस, चिउरा आदि सुपाच्य हुनुका साथै मटुका लागि समेत फलदायी हुन्छन् । रिफाइन्ड र प्रोसेस्ड खानाबाट जोगिनुपर्छ ।
दहीले पाचन प्रणाली राम्रो हुन्छ । फ्लेवर्ड वा मीठो दही भन्दा सादा दही खानु राम्रो हुन्छ ।
Source : http://www.ekantipur.com/nari/article/?id=1497
Posted in:
Health
0 comments for "चिसो मौसमका लागि राइट डाइट"
Leave a reply